२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

1.2K
Shares

बनियानी- झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको छ ।

विसं २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिए । सात / आठ वर्ष चर्चित एवं आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि हाल पर्यटकको आगमन बढेको उहाँले बताए ।

जामुनखाडीलाई थप व्यवस्थित गर्नुका साथै आकर्षणका वस्तुहरु थपिँदै गएपछि पर्यटकको आगमनमा वृद्धि भएको उनी बताउछन् । हालै बाल उद्यान निर्माणसँगै विभिन्न आकर्षक प्रतिमा राखिएको उहाँले जानकारी दिए ।

स्थापनाकालदेखि नै असुरक्षित जङ्गली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको जामुनखाडी सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र छ । जङ्गली जनावरलाई सामुदायिक वनमा पाल्न सरकारले अनुमति नदिएको समयमा असुरक्षित जनावरलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै अध्यक्ष गिरीले २०७२ सालमा सामुदायिक वनले बनाएको कार्यविधिलाई डिभिजन वन कार्यालयले अनुमोदन गरेको बताए । सोही कार्यविधिअनुसार पूर्वाधार निर्माण, जङ्गली जनावरको बास स्थान निर्माण कार्य भइरहेको उनले बताए ।

सिमसार क्षेत्रमा हाल ११ बिघामा व्यवस्थित मृगस्थली छ भने अन्य जङ्गली जनावरका लागि सुरक्षित आवासीय स्थल छ । चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिङ्गर, बाँदर, खयारो, विभिन्न प्रजातिका मुसा, हाँस, विभिन्न प्रजातिको चरा छन् । ती वन्यजन्तुलाई उचित आहारविहारको व्यवस्था वन समूहले गरेको छ ।

वन समूहका सचिव दीपक ओलीले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उपलब्ध गराएको रु एक करोड ५० लाख वन्यन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको बताउनुभयो । टुरिजम बोर्डले आवश्यक सरसहयोग गरिरहेको उनी बताउछन्।

प्राकृतिक सुन्दरताले भरिएको जामुनखाडीमा कुनै समय वार्षिक दुई÷तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने स्मरण गर्नुहुँदै सचिव ओली भन्नुहुन्छ, “आर्थिक अभावले समयअनुसार हामीले पर्यटकीयस्थलको विकास गर्न सकेका छैनौँ, हामीले गरिरहेको मेहेनतमा सरकारले सहयोग गर्ने हो भने जामुनखाडीलाई पूर्वकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न कुनै समस्या छैन ।”

वन समूहकी उपाध्यक्ष रेनुका खवासले पर्यटकीयस्थललाई थप व्यवस्थित बनाउन वन समूहका सबै पदाधिकारी दिनरात खटिरहेको बताए । “भर्खरै चिल्ड्रेन पार्क बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसले पनि पर्यटक आकर्षित भइरहेका छन् ।” एउटा–एउटा गरेर आकर्षण थपिँदै गएको उनी बताउछन् ।

वन समूहकी कोषाध्यक्ष चेतकुमारी सापकोटा (रचना) ले यहाँ संरक्षित जनावरलाई दैनिक खानपान गराउनुपर्ने भएकाले आर्थिक अभाव खड्किने गरेको बताइन । पर्यटकको आगमन कम हुँदा खर्च टार्न धौधौ पर्ने उनको भनाइ छ । “१५ जनाभन्दा बढी कर्मचारी छन्, उनीहरुलाई तलब दिनुपर्छ”, उनले भने, “कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्मको व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि आर्थिक अभाव हुन्छ ।”

पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामनुखाडी यातायातको सुलभ पहुँच छ । आगन्तुक पर्यटकलाई प्रवेश शुल्क रु १०० तोकिएको छ भने डुङ्गा सयर, बाल उद्यानमा रेल, गाडीलगायतका खेलका लागि छुट्टै शुल्क लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij