२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ताप्लेजुङमा बुलेरो गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा बुलेरो गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

1.2K
Shares

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँुडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा जिल्ला ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१०, का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उहाँका छोरा १० वर्षीय भविमय आचार्य रहेका छन् । उनहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij