२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको नाफामा ४८.८३ प्रतिशतको वृद्धि

कामना सेवा विकास बैंकको नाफामा ४८.८३ प्रतिशतको वृद्धि

1.1K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४८.८३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ३३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेको छ भने इम्पेयरमेन्ट चार्ज घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ६५ लाखबाट घटेर ३१ करोड ७१ लाख रुपैयाँमा झरेको छ । यता, खुद ब्याज आम्दानी १ अर्ब ४५ करोडबाट बढेर १ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा पनि ३२.४४ बढेको छ । गत वर्ष ५४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर ७१ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।

कामनाको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड ९८ लाख भन्दा धेरै पुगेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ जम्मा रहेको छ ।

कामनाको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १३ रुपैयाँ ४७ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर १८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij