२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

1.5K
Shares

बागलुङ- बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।

पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।

गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ ।

ऋषि प्रपन्नचार्यले भन्नुभयो, “सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।”

त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

गैँडाकोटबाट घुम्न आउनुभएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताउनुभयो । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए ।

नवलपरासीबाट घुम्न आउनुभएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाउनुभयो । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उहाँको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij