२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

785
Shares

सुदूरपश्चिम-  चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।

सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै उक्त सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए।

रूख कटानीको आदेश नआउँदा उक्त सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । कैलालीको लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ सम्मको यो सडकखण्ड १६ किलोमिटर लामो छ । यसमध्ये आठ किमी सडकखण्डको स्तरोन्नतिका काम सडक विभागमार्फत सुरु भइसकेको इन्जिनियर जोशीले बताए। यसका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा रु दुई करोड २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

कैलालीको पूर्वी भेगबाट पहाडी जिल्लातर्फ जाने यो सडकलाई नेपाल सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनामा पारे पनि लामो समयदेखि स्तरोन्नतिको काम अगाडि बढेको छैन ।

यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाउन वन तथा वातावरणमन्त्री र सचिव, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतसँग भेटवार्ता गरेका थिए ।

भेटवार्तापछि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाएर सडक स्तरोन्नति गर्नेबारे सम्बन्धित निकायबीच सम्झौता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सडकमा पर्ने राष्ट्रिय वन क्षेत्रको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्न र जग्गामा रहेका चार सय ७२ रूख हटाउन सहमति भएको जनाइएको छ ।

प्रदेशको गौरव योजनाअन्तर्गत राखिएको चिसापानी–मङ्गलसैन सडकका लागि प्रदेश सरकारले चालु वर्षमा  ५१ करोड १७ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij