२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

730
Shares
Hotel building in tropical country with palms cartoon icon vector illustration

बाँके नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका छन् भने नयाँ होटलले ठूलो मात्रामा लगानी गरिरहेका छन् ।

यहाँ निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ले एक अर्ब लगानी गर्दैछ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तरराष्ट्रिय सुविधा रहने गरी एक अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको होटल पौवाका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । उनका अनुसार, पहिलो चरणको काम सम्पन्न भई अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेण्ट सेवा सुरु भइसकेको छ भने मुख्य आवास भवन निर्माण भइरहेको छ । यस क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न आवश्यक पूर्वाधार र सुविधामा कमी हुन नदिने उनी बताछन् ।

होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्जमा सञ्चालित शाखामा फरक–फरक स्वाद र परिकारका पाँच रेष्टुरेण्ट, चार ठूलो सभा हलसहित १४ मिटिङ हल, सात स्वीट रुमसहित ९६ डिलक्स रूम उपलब्ध हुने जानकारी दिए । नेपालगञ्जमा पहिलो होटलका रुपमा नौ तलासहितको एउटै छानामुनी स्पा, स्वीमिङ, जिम सुविधा रहने उनको भनाइ छ ।

नेपालगञ्जमै सञ्चालित होटल सिटी प्यालेसले पूर्वाधारमा लगानी थप गरी पाँचतारे स्तरको सुविधा उपलब्ध गराउन सक्षम भएको होटलका सञ्चालक लोकेन्द्र अर्यालले बताए । उहाँले पाँचतारे होटलको मापदण्डअनुसार पूर्वाधारदेखि लिएर सेवा सुविधाको लागि थप लगानी गरिएको जानकारी दिए।

कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीले थलिएको होटल तथा पर्यटन व्यवसाय प्रगतिउन्मुख रहेको होटल व्यवसायी सङ्घ बाँके, नेपालगञ्जका अध्यक्ष रङ्गबहादुर खड्काले बताए । उनले सुधारतिर गइरहेको अवस्थालाई थप टेवा दिन नीतिगत रुपमै सरकारले सकारात्मक वातावरण बनाइ दिनुपर्ने बताए ।

“बाहिर जे–जस्तो भाष्य स्थापित गर्न खोजिए पनि आर्थिक क्षेत्र चलायमान भइरहेको भन्ने तथ्यले देखाएको छ”, खड्काले भन्नुभयो, “करोडौँ लगानीका होटल त्यत्तिकै खुलिरेहका होइनन्, अवस्थामा सुधार देखिँदै आइरहेको छ ।”

सङ्घका संस्थापक अध्यक्ष मदन बिसीले होटल व्यवसायीप्रतिको बुझाइमा आएको सकारात्मक दृष्टिकोणले व्यावसायिक परिस्थितिमा सुधार ल्याएको बताए । “हिजो होटलमा पस्दा बस्दादेखि नै अर्कै नजरले हेरिन्थ्यो, शङ्का गरिन्थ्यो, पछिल्ला दुई दशकमा नेपालीको दृष्टिकोण मै व्यापक परिवर्तन आएको छ, अब त बिहेका भोजमात्रै होइन कन्यादानको पवित्र मण्डपनै होटलमा बन्न थालेका छन्, यसले व्यवसायमा सहयोग पुगेको छ”, उनले भने ।

होटल व्यवसायी सङ्घ बाँकेका निवर्तमान अध्यक्ष भीम कँडेलले व्यावसायिक सुधारका लागि नेपालगञ्जमा धेरै सम्भावना रहेकाले होटल व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्यको मोडेल बनाएर जानुपर्ने उल्लेख गरे।

नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले कोभिड–१९ का कारण ठूलो जोखिममा परेको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मुख अवस्थामा अगाडि बढेकामा खुसी व्यक्त गर्दै पर्यटनका सम्भावनालाई अवसरमा बदल्न सहकार्य आवश्यक रहेको बताए ।

“नीतिगत समस्यासमेत सुधार गरेरै पनि अब पर्यटनमा दिगो विकास खोजिनुपर्छ, ठूलो राजस्व र रोजगारीको क्षेत्र होटल तथा पर्यटनलाई साथ दिन म प्रतिबद्धत छु”, नगरप्रमुख विष्टले भने, “भारतीय पर्यटक सहज रूपमा आउने वातावरण बनाउन सरकारले ध्यान दिन जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij