लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।
विगतमा सरकार अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएका, समयानुकूल ऐननियम नहुँदा प्रक्रियागत एवं संरचनागत सुधार हुन नसकेकाले ती सबै वेथिति बिसाउँदै वर्तमान सरकार जनताका विकासका चाहना पूरा गर्ने प्रयासमा लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बताए ।
उनले भने, “विगतमा भएका त्रुटि सच्च्याएर अघि बढेका छौँ, विकृति र विसङ्गतिका फोहर फालेर अघि बढ्नुपरेकाले नयाँ काममा केही ढिला भएकोजस्तो देखिएको हो ।”
फरक प्रसङ्गमा उनले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक भएको र ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या पनि न्यून रहेकाले त्यसको सुधार गर्दै व्यावहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।
उहाँले अघिल्लो सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धराशायी भएको, औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्रलाई असफल हुनबाट जोगाउन कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको बताए । वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने उनले बताए ।
स्वास्थ्योपचारलाई सर्वसुलभ बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ थियो । जटिल रोगको उपचार र शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउने दिशामा काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
वडाध्यक्ष लक्ष्मण शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खडक गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, जिल्लास्थित विभिन्न पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीयकोे उपस्थिति थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij