काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई आह्वान गरेका छन्।
आज यहाँ आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उहाँले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपुर सदुपयोग गर्ने आधारहरू निर्माणमा सरकार प्रयासरत रहेको बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरुको प्रयासमा सरकारसँगै रहेको अर्धमन्त्री पौडेलको भनाइ छ ।
उहाँले अन्तरराष्ट्रिय श्रम बजारमा रहेका नेपाली श्रमिकले सम्मानित र सुरक्षित ढङ्गले काम गर्न सक्ने वातावरण निर्माणको पक्षमा मन्त्रालयको तर्फबाट सधैँ सहयोग रहेने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युरोपको मागपत्र प्रमाणीकरण र नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले गरिरहेको प्रयासबारे जानकारी दिए । “एक महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण गर्छौं । वार्षिक १०० कामदार पठाउने कम्पनीको मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइसकेको छ”, उनले भने ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिभिसभा सदस्य जीवन परियारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत व्यवसायीले भोग्दै आएका कानुनी बाधा अड्चन हटाइने बताए ।
सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले समयसापेक्ष ऐन, नियम परिमार्जनमा आवश्यक पहलका लागि आग्रह गर्दै सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सङ्घको २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित सात पदाधिकारी र १० जना कार्यसमिति सदस्य निर्वाचित हुँदैछन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij