२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

1.5K
Shares
फाइल फोटो

तनहुँ– भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि रोकिएको काम पुनः सुरु भएको हो ।

आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । व्यास–१२ र शुक्लागण्डकी–७ मा पचास प्रतिशत काम सम्पन्न भइसकेको छ विज्ञ सदस्य कार्कीले बताए ।

आयोगले भानु नगरपालिका, व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका शुक्लागण्डकी नगरपालिकामा अभिमुखीकरण सम्पन्न गरिसकेको छ । जिल्लास्थित सबै स्थानीय तहमा पुगेर आयोगको काम, कर्तव्य र पालिकाको दायित्वका विषयमा अभिमुखीकरण गरिएको कार्कीले जानकारी दिए ।

आयोगले तनहुँमा २६ हजार ११७ भूमिहीनको लगत सङ्कलन गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार ११७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए ।

त्यस्तै ६ हजार ७ सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार ६ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको छ ।

व्यासमा ७ हजार ४३, भानुमा ३ हजार ३ सय १७, शुक्लागण्डकीमा ४ हजार ४ सय ३, देवघाटमा २ हजार ३ सय ४४, भिमादमा १ हजार ८ सय ६१, ऋषिङमा १ हजार ४ सय ३९, घिरिङमा १ हजार ५ सय २०, म्याग्देमा १ हजार २ सय ६७, आँबुखैरेनीमा ८ सय ९३ र बन्दीपुरमा २ हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ ।

सदस्य सचिव सिंहका अनुसार व्यासमा ४ सय ९ भूमिहीन दलित, ४ सय ८३ भूमिहीन सुकुम्बासी, ६ हजार १ सय ५१ अव्यवस्थित बसोबासी, भानुमा ४ सय ५ भूमिहीन सुकुम्बासी, २ हजार ९ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा २ सय ८७ भूमिहीन दलित, २ सय ८७ भूमिहीन सुकुम्बासी, ३ हजार ८ सय २९ अव्यवस्थित बसोबासी, देवघाटमा १ सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र २ हजार १ सय ४३ अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको छ ।

त्यस्तै भिमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, १ हजार ८ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, १ सय २७ भूमिहीन सुकुम्बासी, १ हजार २ सय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, १ हजार ४ सय २ अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार १२४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, ७८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, २६७ भूमिहीन सुकुम्बासी तथा एक हजार ६७४ अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको छ ।

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा २ हजार ८ सय ४१, देवघाटमा २ हजार ३ सय ६२, आँबुखैरेनीमा एक हजार ५ सय २९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीका वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीका पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij