२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड, १७.२ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड, १७.२ महिनाको वस्तु आयात धान्ने

1.3K
Shares

काठमाडौं  – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचकांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ।

चालु आवको फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति १७ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ। विदेशी मुद्रा सञ्चिति चालु वर्षको शुरुमा १५ अर्ब २७ करोड रुपैयाँ थियो । चालु आवको आठ महिनामा मात्रै नेपालसँग २ अर्ब अमेरिकी डलर सञ्चिति बढेको छ ।

फागुन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति नेपाली रुपैयाँमा २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ । यो सञ्चितिले १७ दशमलब २ महिनाको वस्तु आयात तथा १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक मुद्रा सञ्चिति र शोधनान्तर बचतले फागुन महिना पनि बढ्दो लय नै समातेको छ । चालु आवको फागुन मसान्तसम्म देशको शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर बचतले देशबाट बाहिरिने रकम भन्दा देशमा भित्रिने रकम बढेको रुपमा बुझ्न सकिन्छ । नेपालले पछिल्लो समय वैदेशिक रोजगारमा लाखौं मानिस पठाएर रेमिट्यान्स स्वरुप रकम भित्र्याइरहँदा धेरै हदसम्म शोधनान्तर स्थिति बचतमा रहन सफल भएको हो ।

नेपालको वैदेशिक व्यापार र प्रत्यक्ष वैदेशिक लगानीको अवस्था भने हरेक वर्ष निराशाजनक नै देखिएको छ । चालु आवको आठ महिनामा नेपालको आयात ११ दशमलब २ प्रतिशतले बढ्दा निर्यात भने ५७ दशमलब २ प्रतिशतले बढेको छ । भारतले प्रशोधित सोयाविन तेलको आयातमा भन्सार दर घटाउँदा त्यसको फाइदा स्वरुप पछिल्लो समय नेपालको निर्यात केही बढेको छ । निर्यात बढ्नुमा ठूलो हिस्सा यही प्रशोधित सोयाविन तेल निर्यातले गर्दा नै हो । निर्यात ५७ प्रतिशतले बढ्दा पनि नेपालको वैदिशक व्यापार घाटा भने ६ दशमलब २ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.१८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ। यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब ६३ करोड रहेको थियो ।

चालु आवको पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलब ४ प्रतिशतले बढी हो । गत वर्ष रेमिटेयान्स आप्रवाह १८ दशमलब ३ प्रतिशतले बढेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij