पाल्पा- पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन ।
रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले हातमा सीप, आफूमा जाँगर, इच्छा शक्ति भयो भने इँटा पोलेर फालिएको पत्थरीलो जग्गा पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । दाजुभाइको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिँचाइ व्यवस्थापन गर्दै जाँदा अहिले कमाउने आधार बनेको छ ।
थापा दाजुभाइ एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारीखेतीमा लाग्नुभएको छ । उहाँहरूले करिब दश रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन् ।
थापा दाजुभाइले ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरेर विगत छ वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । हाल यहाँ काँक्रा, करेला, गोलभेँडा, धारे घिरौला, फर्सीको सागबालीलगायत खेती भइरहेका छन् । काँक्रा उत्पादनको समय भएकाले बिक्री गर्न भ्याइनभ्याइ भइरहेको दिलबहादुरले बताए । दैनिकजसो दुई क्विण्टलसम्म काँक्रा बिक्रीका लागि फार्मबाट निकाल्ने गरिएको उहाँले जानकारी दिए ।
“फार्ममा यतिबेला काँक्राको उत्पादन प्रशस्त भएको छ । काँक्रा टिप्ने, बजार लैजानमा दौडधुप बढेको छ, बेमौसमीयामको उत्पादन भएकाले बजारमा माग पनि बढी छ, फार्ममा पनि ग्राहक तथा व्यापारी खरिद गर्न आउनुहुन्छ”, उनले भने ।
काँक्राबाहेक गोलभेँडा, धारे घिरौला, करेला, फर्सीको साग उत्पादन भइरहेको छ । चैतदेखि उत्पादन सुरु भएको काँक्रा हालसम्म १७ क्विण्टल बिक्री गरिएको बताउँदै अझै एक महिनासम्म उत्पादन दिइरहने दिलबहादुरले जानकारी दिए ।
उहाँका अनुसार वार्षिक रु २० लाख बराबरको तरकारीखेतीबाट कारोबार भइरहेको छ । आगामी वर्ष थप रु १५ लाख नाफा गर्ने लक्ष्यसहित जेठमा उत्पादन दिनेगरी काँक्राको नयाँ बिरुवा लगाउने तयारी भइरहेको उनले बताए ।
“खेती गर्ने समय र प्रविधि जानियो भने बिक्रीको समस्या हुँदैन, हामीले अन्य क्षेत्रमा तरकारी उत्पादन नहुने समय मिलाएर खेतीमा जोड दिएकाले राम्रो बजार पाएका छौँ, बजारका लागि अन्यत्र धाउनुपरेको छैन”, दिलबहादुर भने, “गाउँकै बजारमा अहिलेसम्म लागतअनुसारको मूल्य पाइएको छ, यसमा हामी सन्तुष्ट छौँ ।” थोपा सिँचाइ, मल्टिङ प्लाष्ट्रिक, व्यवस्थित फलामे डण्डीको व्यवस्था गरेर दीर्घकालीन रूपमा व्यावसायिक खेती गरिएको उनको भनाइ छ ।
“सिँचाइका लागि इनारबाट पानी निकालेर आपूर्ति भइरहेको छ । बजार नजिकै र फार्मसँग सडक सुविधा भएकाले व्यापार गर्न सजिलो भएको छ । बाह्रै महिना विभिन्न जातका तरकारी पाइने हुँदा व्यापारी तथा ग्राहकको हरेक समय फार्ममा चहलपहल रहन्छ”, उनले भने ।
गोलभेँडा हालै मात्रै ८० क्विण्टल उत्पादन भएको जनाउँदै लालबहादुरले फार्ममा अझै बिक्रीका लागि रहका उल्लेख गर्नुभयो । उहाँका अनुसार रामपुर बजारका साथै पाल्पाको सदरमुकाम नजिकै रहेको आर्यभञ्ज्याङ बजारमा पनि काँक्रा खपत भइरहेको छ ।
“बाहिरका विभिन्न बजारबाट माग आइरहेको हुन्छ, हाम्रो लक्ष्य भनेको स्थानीय बजारमा खपत गराउने हो, व्यापारी तथा ग्राहकले फार्मबाटै तरकारी खरिद गर्नुहुन्छ, हामीले स्थानीयलाई रित्तो हात पठाएका छैनौँ, अहिलेको उत्पादन स्थानीय बजारमै ठिक्क छ”, उनले भने ।
चितवन, बुटवललगायत क्षेत्रमा भन्दा यहाँको बजारमा तरकारीले प्रशस्त मूल्य पाएको लालबहादुरले सुनाउनुभयो । किसानले उत्पादनमा जोड दिने हो भने बाहिरी तुलनामा स्थानीय बजारमा बिक्री गर्दा मूल्य बढी पाइने उनको अनुभव छ । सिँचाइका लागि विद्युत् प्रयोग गर्नुपर्ने भएकाले विद्युत् बन्द भएका समय समस्या हुने गरेको उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij