२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

1K
Shares

लुम्बिनी – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए ।

दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उहाँले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij