काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एफपीओमा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ।
लघुवित्तले चैत २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओ ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो। चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ९१ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij