२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना

सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना

605
Shares

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकाको प्रशासकीय केन्द्र नराकोटमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सिञ्जा गाउँपालिकाको नराकोटमा स्थापना गरिएको नापी र मालपोत कार्यालयको औपचारिक उद्घाटन गरेसँगै यहाँका स्थानीयवासीमा खुसी छाएको छ ।

सो अवसरमा मन्त्री अधिकारीले कार्यालय स्थापना भएसँगै सिञ्जा क्षेत्रलाई आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्रदान गरेको बताउनुभयो । यो कदमले खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध सिञ्जा क्षेत्रमा विकासको नयाँ युगको सुरुआत गरेको उनले उल्लेख गरे ।

मन्त्री अधिकारीले भने, “यो कार्यालय स्थापनाले सिञ्जा क्षेत्रलाई आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्रदान गरेको छ । कार्यालयको दिगो व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहका लागि सरकारले आवश्यक सहयोग जारी राख्ने भएको छ ।” सरकारले चालेको यो कदमले खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध सिञ्जा क्षेत्रमा विकासको नयाँ युगको सुरुआत गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

सङ्घीयताको मर्मअनुसार अब सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले घरआँगनमै नापी र मालपोत सेवाको सुविधा पाउने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । यो कार्यालय स्थापनाले सिञ्जा क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने झन्झट र महँगो खर्चबाट समेत मुक्ति मिलेको छ । गत पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यो कार्यालय स्थापनाको बाटो खोलेको थियो ।

सिञ्जाका स्थानीयवासीले यो निर्णयलाई सङ्घीयताको अनुपम उपहारका रूपमा स्वागत गरेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । सिञ्जा भेगका नागरिकलाई अब जुम्ला सदरमुकाम खलङ्गा जानुपर्दा लाग्ने समय, पैसा र हप्तौँ होटल बसाइको पीडा हटेको छ । घरमै बसेर सेवा लिन पाउनु यहाँका स्थानीयवासीका लागि ठूलो राहत भएको सिञ्जा–२ का स्थानीयवासी रतन वडाले बताए।

जग्गा नामसारी, राजीनामाजस्ता कामका लागि सिञ्जाबाट सुविधा लिन पाउँदा निकै खुसी छाएको छ । सो कार्यालय स्थापनाले स्थानीयवासीको दैनिकीसमेत सहज बनाएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij