२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सञ्चय कोषद्वारा ५ अर्ब ३४ करोड मुनाफा वितरण

सञ्चय कोषद्वारा ५ अर्ब ३४ करोड मुनाफा वितरण

905
Shares

काठमाडौँ- कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब  पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब  पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।

कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ । बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्तालाई चालु आर्थिक वर्षमा सञ्चित रकममा पाँच दशमलव ५० प्रतिशतका दरले व्याज प्रदान गरिरहेको छभने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट छ दशमलव ६० प्रतिशत व्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष, घर, शैक्षिक, घर मर्मत, सरल र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ ।

सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पतीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तै, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुविधा प्रदान गर्दै आइएको छ । यसअन्तर्गत गत आवमा सुत्केरी तथा शिशु स्याहार सुविधा रु १४ करोड ६५ लाख, काजकिरिया अनुदान रु दुई करोड ८२ लाख, दुर्घटना क्षतिपूर्ति रु दुई करोड १४ लाख, स्वास्थ्य उपचार सोधभर्ना रु ३४ करोड ६५ लाख र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका ४७ सञ्चयकर्तालाई करिब रु ७० लाख प्रदान गरिएको कोषले जनाएको छ ।

हाल कोषमा पाँच लाख ७५ हजार सञ्चयकर्ता र ८० हजार ४०० निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij