२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री ओलीसँग नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता,नेपालमा लगानी गर्न आग्रह

प्रधानमन्त्री ओलीसँग नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता,नेपालमा लगानी गर्न आग्रह

990
Shares
प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरुको भेटवार्ता बैंकक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता । भेटवार्तामा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

थाइल्यान्ड -थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन् ।
भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती दिने बताउनु भएको थियो ।
उहाँले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्‌न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए ।
यस्तै भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरुले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए ।
उहाँले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराएका छन् । “नेपाल लगानीको लागि पर्याप्त सम्भावना भएको मुलुक हो । पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आर्कषित गर्ने अवस्था छ । निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीहरुलाई लगानीको लागि आग्रह गर्दछु ।” अध्यक्ष ढकालले भने ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीँ चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ । नेपाल र थाइल्याण्डबिच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij