काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आज बिहीबार चैत २१ गतेदेखि आवेदन दिन सकिनेछ । यस लघुवित्तले ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।
क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij