दाङ – लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए । यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो । साउदीमा पानीको मात्रा धेरै भएको र माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौ भन्ने सोचाइ आएको उनले बताए ।
नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि बगरमा तरभुजाखेती गरेको उनले बताए । लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिनमा तरभुजाखेतीले हराभरा भएको छ । नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलले बताए ।
उहाँले नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्न युवाहरुलाई सल्लाह दिन्छन् । युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उहाँको भनाइ छ । पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि खटेर काम गर्ने गरेको उनले बताए । लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उनले बताए ।
सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरभुजाखेतीमा लागेका छन् । उहाँ चार वर्ष दुबई बसेर फर्केर स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरभुजाखेतीमा जोडिएका छन् । फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्य सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी खेती सञ्चालन गरेको उनले बताए ।
लमहीमा रहेको उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरभुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिए । “सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गर्नुभयो र जग्गा उपलब्ध गराएको हो,” उनले भने ।
गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरभुजा उत्पादन राम्रो हुने उनले बताए । प्रतिबिघा चार लाखदेखि पाँच लाख आम्दानी हुने आशा रहेको उहाँले सुनाए । मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरभुजा रोपण गरिएको छ । मल्चिङ प्रविधिबाट दाङमा खरभुजा खेती हुने गरेको छैन यो नै पहिलो अभ्यास गरेको उनले बताए ।
हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरभुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरभुजाखेती गरेको उनले बताए । उत्पादन भएको तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवल लगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उनले बताए । प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उनको धारणा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij