२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रयोगम आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

प्रयोगम आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

955
Shares

पाल्पा- आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उनले सुनाए ।

हिजोआज भने उहाँलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । रामपुर नगरपालिका–२ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताए । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा उनले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राखेका छन् । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राखेका थिए ।

“अघिल्लो वर्ष रामपुर शीतभण्डारमा राखेको राखेको आलु राम्रो भएपछि यो वर्ष पनि ल्याएर राखेका छौँ, गाउँघरमा नै चिस्यान केन्द्रमा राख्ने सुविधा भएपछि धेरै सजिलो भयो, यहाँ शीतभण्डार नबन्दासम्म भैरहवामा आलु राख्दै आइरहेका थियौँ, अब भैरहवा लैजान दौडधुप गर्नुपरेन”, उनले भने । अहिले भण्डारण गरेर राख्ने र पछि बेमौसमी याममा निकालेर बिक्री गर्दा किसानले उचित मूल्य पाउने उनले बताए ।

आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षितसाथ राख्न ढुक्क हुने गरेको रामपुर–६ का ७४ वर्षीय लेखनाथ पोखरेल बताउनुहुन्छ । शीतभण्डारको सुविधाले पछिल्ला वर्ष उत्पादन बढाउँदै गएको उहाँले जनाउनुभयो । यस वर्ष उहाँले खायन र बीउ आलु गरेर १५ बोरा राख्ने तयारी गर्नुभएको छ ।

“शीत भण्डारले किसानलाई धेरै सजिलो भएको छ, थोरै उत्पादन गर्ने तथा घरायसी प्रयोजनका लागि मात्र उत्पादन गर्ने किसानलाई भैरहवा, पोखरालगायत शीतभण्डारमा १०–१५ बोरा आलु बोकेर लैजाने र ल्याउने गर्न समस्या हुन्छ, रामपुरमै सुविधा भएपछि भण्डारण गर्न सजिलो, आफूलाई आवश्यक परेका बेला निकाल्न सकियो”, उनले भने ।

रामपुरको मात्र नभई स्याङ्जा चापाकोट नगरपालिकाबाट पनि एक हजार पाँच सय बोरा आलु राखिने तयारी भइरहेको रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख दोवराज तिवारीले जानकारी दिए । उनले नगरपालिकाले आलुको रेखदेखका लागि एक जना दैनिक हेरालु व्यवस्थापन गरिने बताए । अहिले कृषि शाखाका कर्मचारी परिचालन गरेर आलु राख्ने कार्य भइरहेको उनको भनाइ छ ।

“यसपटक तीन हजार पाँच सयदेखि चार हजार बोरा राख्ने अनुमान गरिएको छ, आलु राख्न धेरै ठाउँबाट सम्पर्क गरिरहनुभएको छ, स्थानीयलाई पहिला प्राथमिकता दिएका छौँ”, उनले भने, “यहाँ राखिएको आलु नगरपालिकाले सुरक्षित साथ व्यवस्थापन गर्ने छ, सुरक्षितसाथ राख्न पाउँदा किसान उत्साहित हुनुहुन्छ ।”

यहाँ राख्न ल्याइएका आलु राख्ने र निकाल्ने व्यवस्था पनि नगरपालिका आफैँले गरिरहेको छ । प्रतिकिलो ६ का दरले किसानसँग भण्डारण शुल्क लिएर राख्ने गरिएको रामपुर नगरपालिका कृषि शाखाका कर्मचारी युवराज नेपालीले जानकारी दिए । उनका अनुसार यहाँ गत वर्ष तीन हजार ३७० बोरा बीउ तथा खायन आलु भण्डारण गरिएको थियो ।

यहाँ शीतभण्डार निर्माण भएपछि यसभन्दाअघि तीनपटक आलु भण्डारण सुविधा किसानले लिइसकेका छन् । पहिलो वर्ष परीक्षणका रूपमा राखिएका केही आलुमा उम्रने समस्या आएपछि पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइयो । दोस्रो र तेस्रो वर्ष राम्रो भण्डारण भएपछि किसानले बाहिरका शीतभण्डारमा आलु लैजान छाडेका छन् । अहिले राखिएको खायन आलु भदौ र असोजमा निकालिने छभने बीउ प्रयोजनका लागि राखिएको आलु कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गरेर निकालिने जनाइएको छ ।

किसानले उत्पादन गरेका कृषि उपजलाई सुरक्षित तरिकाले भण्डार गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगरप्रमुख रमणबहादुर थापा बताए । रामपुर क्षेत्रमा आलु धेरै उत्पादन हुने गरेकाले आलुबाली सुरक्षितसाथ राख्न किसानलाई धेरै सजिलो भएको नगरप्रमुख थापाले बताए ।

नगरपालिकाले पहिलो वर्ष बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर सञ्चालन गरेको थियोभने चौथो वर्ष नगरपालिका आफँैले व्यवस्थापन गरेर सञ्चालन गर्ने जनाइएको छ ।

विसं २०७८ वैशाखमा निर्माण सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यो पाल्पाको सबैभन्दा ठूलो क्षमताको शीतभण्डार रहेको छ । लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्त रूपमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो । फरकफरक क्षमताका पाँच कोठामा नै भण्डारण गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij