कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ । नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रण गर्नका लागि जैविक तटबन्ध निर्माण अगाडि बढाइएको हो ।
ग्याविन जाली र ढुङ्गाको प्रयोग गरी निर्माण गरिने तटबन्धभन्दा जैविक तटबन्ध सस्तो र भरपर्दो हुने भएकाले वर्षातमा नदीको बाढीले जग्गा कटान रोक्न जैविक तटबन्ध निर्माण थालिएको शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
“विगत सात वर्षदेखि नदीमा जैविक तटबन्ध निर्माण हुँदै आएको छ”, उनले भने, “यस वर्ष वडाबाट रु एक लाख ८६ हजार बजेट विनियोजन गरी १७५ मिटर लामो जैविक तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण भइरहेको छ ।”
यही लम्बाइको ग्याविन जालीको प्रयोग गरी बनाइने तटबन्धमा रु ३० लाख बढी खर्च लाग्ने उल्लेख गर्दै वडाध्यक्ष चौधरीले जैविक तटबन्ध केही सस्तो हुने बताए ।
निर्माणमा संलग्न उपभोक्ता समितिका सदस्य आशाराम चौधरीले वडाले प्रदान गरेको रकमबाट बाँस खरिद गर्न, ढुवानी गर्न, ड्रिल गर्न र बाँसका चोया बाध्न खर्च भइरहेको जानकारी दिए । उनका अनुसार तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले श्रमदान गरी सहयोग गरिरहेका छन् ।
जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच जना श्रमिकलाई खटाइएको छ । श्रमिकले रु ५० हजार १०० बराबरको १५ दिनसम्म काम गर्ने प्राविधिक टेकेन्द्रप्रसाद भट्टले बताए । “तटबन्धलाई बलियो बनाउन बाँसका चोया बाँधेको ठाउँको बीचबीच भागमा बोरीमा बालुवा भरेर राख्ने गरिरहेका छौँ”, उन भने, “तटबन्ध निर्माण गरिएको ठाउँमा गहिरो जरा हुने घाँस प्रजातिका बिरुवा रोपेर थप बलियो बनाउने छौँ ।”
तटबन्धलाई बलियो र भरपर्दो बनाउन दैनिक अनुगमन हुँदै आएको वडासचिव श्याम चौधरीले बताए । उनका अनुसार वडाले प्रत्येक वर्ष जैविक तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।
सात वर्षको अवधिमा दातृ निकायसँगको साझेदारीमा वडा कार्यालयले करिब एक हजार मिटर लम्बाइका जैविक तटबन्ध निर्माण गरेको छ । तटबन्ध निर्माणले किसानको जग्गा भूक्षय हुनबाट जोगिनुका साथै नदीले बर्सेनि कटान गर्दै आएको जग्गा जोगिएको स्थानीय बताउँछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij