२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

1.4K
Shares

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताएका छन् । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पारे ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाैँ नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भने, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिए ।

संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताए । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, महिला, दलित, आदिवासी जनजातिलाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्न सकिन्छ”, उनले भने ।
आमसभाअघि समाजवादी मोर्चाले काठमाडौँको विभिन्न स्थानबाट जुलुस निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij