२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

1.9K
Shares

कैलाली- कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख र अन्यतर्फ रु एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो । चालु आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा रु ८१ करोड १३ लाख, पुसमा रु ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फागुनमा रु ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको बताए ।

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij