२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा

1K
Shares

काठमाडौं – आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेकाे हाे  ।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए ।
उनले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” उनले भने।
“हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,” उनले भने ।
सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए ।
“स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,” उनले भने ।
काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए ।
उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए ।
यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उनले भने ।
केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनले बताए ।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij