२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता, बैंकिङ कसुरमा ११२७ मुद्दा

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता, बैंकिङ कसुरमा ११२७ मुद्दा

660
Shares

काठमाडौँ- फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् ।

काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए ।

बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका पाँच सय २१ अपराधका मुद्दा दर्ता भएका छन् । आत्महत्यासम्बन्धी अपराधका पाँच सय एक, लागुऔषधसम्बन्धी चार सय १९, चोरीका दुई सय ८६, जबर्जस्ती करणीका एक सय ६८, ठगीसम्बन्धी एक सय ६२, सवारी ज्यान मुद्दा एक सय ५४, ज्यान मार्ने उद्योगमा ७१ तथा कर्तव्य ज्यानसम्बन्धी ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकामा एक हजार तीन सय ३७ मुद्दा दर्ता भएका प्रवक्ता आचार्यले बताउनुभयो । मधेस प्रदेशमा सात सय १५, कोशी प्रदेशमा ६ सय ६५, लुम्बिनी प्रदेशमा ६ सय १२, बागमतीमा तीन सय ७६, सुदुरपश्चिममा दुई सय ७९, गण्डकी प्रदेशमा तीन सय २३ तथा कर्णाली प्रदेशमा एक सय ६१ आपराधिक घटनाका मुद्दा प्रहरीमा दर्ता भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij