झापा – पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरे ।
जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहनु भएका थिए । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उनका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।
विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उनी अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताए । उनको नागरिकता बनाउन बिगत पाँच वर्षदेखि पहल भइरहेको थियो ।
“आमा विदेशमा र बाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आएका थिए,” नागरिकताका लागि पहल गरेका शिक्षक बानियाँ भने, “हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनिकुथी हेरचाह गरिरहेका छन् ।”
ढिलै भएपनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताइन । नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुडामा राख्ने गरिएको छ । उनलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाउने गरेका छन्।
“नागरिकता उनको नैसर्गिक अधिकार हो,” सहायक प्रजिअ नेपालले भने, “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पु¥याएका हौँ ।”
चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताए । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरु तीन जना बुद्धशान्ति गाउँपालिका–४ र ५ का छन् । बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपाङ्गता भएका २२ वर्षीय सौरभ चापागाईंको आफैँले पहल गरेर नागरिकता बनाइदिएको बताउए ।