२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल

1.5K
Shares

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएकाे छ । २७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उहाँले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताएका छन् ।

“संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुङ्गोमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ”, अध्यक्ष दाहालले भने, “सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।” जनताको सङ्घर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्तो प्रयासलाई परास्त गरिने बताउनुभयो । “इतिहासमा सीमित भइसकेको राजतन्त्र पुनःस्थापना असम्भव छ”, उहाँले भन्नुभयो, “त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित हुँदैन ।”

वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरु छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले वामपन्थी एकताका निम्ति आफूले इमान्दार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताउनुभयो । प्रतिगामी कदम विरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेकाे १० वटा पुस्तक विमोचन गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij