काठमाडौँ – नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरुमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ । कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराउनुभयो । उनले भने, “छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ? उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।”
उनले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याए।
कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा दुई करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।
पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।