तनहुँ- यहाँको म्याग्दे गाउँपालिका–३ मा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुलाई लामो समयसम्म भण्डारण गरी बजारमा उचित मूल्यमा बिक्री गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ मा पासा कन्स्ट्रक्सनसँग रु एक करोड ४७ लाख चार हजार छ सय ४७मा ठेक्का सम्झौता भएको थियो । दुई तल्ले भवन १९५ दशमलव ८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायत राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीले भन्नुभयो, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, जसकारण कृषकले उचित मूल्य पाउनेछन् ।” अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिक टन रहेको छ ।
चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रति किलो रु दश शुल्क कायम गरिएको जानकारी दिए । तर म्याग्दे गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत छुट दिइनेछ ।
कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्दा समस्या हुँदै आएकाले अब चिस्यान केन्द्रले सहज हुने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij