काठमाडौं – भारत भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र ब्राजिलका वातावरण तथा जलवायु परिवर्तन मन्त्री मारिना सिल्भाबीच भेटावार्ता भएको छ ।
नयाँदिल्लीमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले आगामी वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३०)को सफलताका लागि सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । त्यस्तै उनले आगामी २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रममा मन्त्री सिल्भालाई निमन्त्रणा गर्नुका साथै सहकार्य गर्न सकिने जलवायुका मुद्दाका बारेमा छलफल गरेका थिए । मन्त्री शाही ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँदिल्ली प्रस्थान गरेका थिए। उनी फागुन २४ गते स्वदेश फर्कने तालिका छ ।