काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरुले सुविधावापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानार्कषण गराए । “सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरुले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरुले पैसा पाउँछन् ”, उनले प्रश्न गरे । सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरु प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।