२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

525
Shares

कञ्चनपुर – कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहनु भएको छ । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिनका लागि सडकको प्रवेश विन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन् । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ ।

“पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन”वडाध्यक्ष साउदले भने,“सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन ।” जन दबाब बढन थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए।

धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हुँदै आएको स्थानीय रामनाथले बताउनुभयो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको बताए ।
“निर्माण व्यवसायीले अश्वासन दिन्छन् कार्य गर्दैनन्” उनले भने,“यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ ।” चैत महिनासम्म ठेक्को म्याद थप भएकाले विचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले तोकता गर्दै आएको उनले बताए । सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौताभै विसं २०८१ वैशाखमा म्याद सकिएको थियो ।

विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । एघार करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij