२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्  – अध्यक्ष बिजुक्छें

आफ्ना लागि होईन, देश र समाजको लागि बाँच्नुस्  – अध्यक्ष बिजुक्छें

850
Shares
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आफ्ना लागि नभई देश र समाजका लागि बाँच्ने भावना बोकेर अगाडि बढ्न नेमकिपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छन् ।
नेमकिपाको आठौँ महाधिवेशनको आज दोस्रो दिन भक्तपुरमा जारी बन्द सत्रमा महाधिवेशन प्रतिनिधि एवं जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष बिजुक्छेंले राजनीतिक प्रशिक्षण दिँदै यस्तो भनेका हुन ।
सच्चा कम्युनिष्टले आफ्ना र आफ्ना छोराछारीका लागि नभई देशको आमूल परिवर्तनका लागि सोच्नुपर्ने उनको भनाइ थियो । “कम्युनिष्टमा त्याग र समर्पणको भावना हुनुपर्छ, आफ्ना छोराछोरीका लागि नभई सिङ्गो देश र समाजका लागि सोच्नुपर्छ । वर्गविहीन समाजको स्थापनामा लाग्नुपर्छ । उत्पादनका सामानलाई सामाजिकीकरण र समाजका लागि बाँच्ने मुख्य भावना हुनुपर्छ । सांस्कृतिकस्तर उठाउने, समाजवादको स्थापना अन्तिम लक्ष्य हुनुपर्छ । तपाईंहरु यहीँ बाटोमा हिँड्नुपर्छ”, अध्यक्ष बिजुक्छेंले भने।
उनले गलत काम गर्ने व्यक्ति पार्टीमा हुन नहुने भन्दै देश र जनतालाई आघात पुग्ने गरी कसैले गलत काम गर्छ भने पार्टीले तत्काल कारबाही गर्ने बताए।
बन्दसत्रमा अध्यक्ष बिजुक्छेंको प्रशिक्षण सकिएपछि जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय सङ्गठन प्रमुखहरूले प्रतिवेदन पेस गरेको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए ।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बृहत् छलफल भएको जानकारी दिँदै उनले महाधिवेशनको तेस्रो दिन भोलि पनि प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने, पार्टीका सचिव प्रेम सुवालले प्रतिवेदन पेस गर्ने, उक्त प्रतिवेदनमाथि बृहत् छलफल गरिने, प्रस्तुत प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना र नीति तथा कार्यक्रम तयार गर्ने गोसाईंले जानकारी दिए।
यही फागुन १९ गतेसम्म सञ्चालन हुने पार्टीको आठौँ महाधिवेशनमा सहभागी ५० जिल्लाबाट आएका करिब तीन सय महाधिवेशन प्रतिनिधिले १९ गते पार्टीको नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।
अध्यक्ष बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवा भएको थियो । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij