गोरखा – गोरखाको प्रसिद्ध धार्मिकस्थलको रूपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो ।
“मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने भक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष विनोदकुमार बस्न्यातले भने, “यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ ।
“देशभरीका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ, उनले भने, “हामीले गोरखा भ्रमण वर्षको घोषणा गरेर गोरखामा पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।” मनकामना मन्दिर र गोरखकाली मन्दिरको ऐतिहासिक र धार्मिक सम्बन्ध भए पनि एकआपसमा जोडेर पर्यटन प्रवर्द्धन गर्न नसकिएको नगरप्रमुख राना मगरको भनाइ छ ।
पदयात्रामा निस्किएको टोली शनिबार गोरखा सदरमुकामस्थित गोरखकाली मन्दिरमा आइपुग्नेछ । “यी दुई मन्दिरका बीच दिदीबहिनीको सम्बन्ध रहेको पाइन्छ, नगरप्रमुख राना मगरले भने, मनकामना मन्दिरको दर्शन गर्ने दर्शनार्थीले गोरखकाली मन्दिरको पनि दर्शन गरे चाहेको सबै मनोकाक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ ।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij