२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा मुख्यमन्त्रीद्वारा अनुगमन

बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा मुख्यमन्त्रीद्वारा अनुगमन

855
Shares
महोत्तरी –  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन गर्दै अनुमति नलिई सञ्चालित सबैलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
आज साँझ प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीसहित बर्दिवासका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक अनुगमन गर्दै उनले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका अस्पताल र स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिए ।
बर्दिवासका आठ वटा निजी अस्पताल र स्वास्थ्य संस्थामा उनले आज छड्के गरेका थिए । सो क्रममा कानुनी प्रक्रिया पूरा नगरेका पाँच वटा संस्थालाई तत्काल बन्द गर्न उनले पत्रमार्फत निर्देशन दिए ।
सुरक्षा अर्थोपेडिक एण्ड डेण्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, ॐ समाज डेण्टल हस्पिटल, खोमसुरा डेण्टल क्लिनिक र पिनाकल अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
“जनसेवा हस्पिटलको सम्पूर्ण विवरण उपलब्ध नरहेकोले आवश्यक विवरण अद्यावधिक गर्न र डिएनबी मेडिकेयर सेन्टरलाई तत्काल इजाजत नविकरण गर्न निर्देशन दिएका छौँ”, उनले भने । उनका अनुसार सबै प्रक्रिया पूरा गरी महेन्द्र डेण्टल क्लिनिक मात्र सञ्चालन भएको पाइएको हो ।
“जनताको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा लापरबाही गर्न सकिँदैन”, अनुगमनपछि रासससँग मुख्यमन्त्री सिंहले भने, “प्रदेशका आठवटै जिल्लामा यसलाई कडाइका साथ लागू गरिने छ ।” अस्पताल र स्वास्थ्य संस्थाले सञ्चालन गर्नपूर्वका कानुनी प्रक्रिया र सुविधासम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेमा उनले जोड दिए।
यसअघि प्रदेशको राजधानी जनकपुरधाम र औद्योेगिक नगरी वीरगञ्जका अस्पताल र स्वास्थ्य संस्थामा छड्के गर्नुभएका सिंहले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका सबैलाई बन्द गर्न निर्देशन दिइसक्नुभएको छ ।
मुख्यमन्त्रीको उक्त अनुगमनले अस्पताल र क्लिनिकलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यसम्बन्धी सबै मापदण्ड कार्यान्वयन गर्न दबाब सृजना भएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij