कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज उदयपुरको कटारी नगरपालिका–३ मा रहेको ताराघारी महादेव गुफाको अवलोकन गर्नुभएको छ । गुफा अवलोकनसँगै प्रधानन्यायाधीश राउतले गुफाका बारेमा जानकारी लिनुभयो । महादेव गुफा पर्यापर्यटन व्यवस्थापन समितिले उहाँलाई जानकारी गराएको समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी सोही अवसरमा गुफा परिसरमा निर्मित व्याडमिन्टन कोर्टको प्रधानन्यायाधीश राउतले उद्घाटनसमेत गर्नुभयो । कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वउद्योग तथा कृषि सहकारीमन्त्री रामकुमार खत्रीसँग व्याडमिन्टन खेल्दै प्रधानन्यायाधीश राउतले कोर्टको उद्घाटन गर्नुभएको हो । सो अवसरमा वरिष्ठ अधिवक्ता शम्भु थापाले गुफाका बारेमा प्रधानन्यायाधीश राउतलाई जानकारी गराउनुभएको थियो ।
यो गुफा पूर्वक्षेत्रकै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कटारी नगरपालिकाका स्थानीय रहनुभएका प्रधानन्याधीश राउतलाई आज नै दिउँसो त्रिवेणी मावि कटारीमा एक बृहत कार्यक्रमका बीच कटारी नगरपालिका, उदयपुर उद्योग वाणिज्य सङ्घ र कटारी विद्यार्थी समाजले सम्मान गरेको थियो । प्रधानन्यायाधीश राउत त्रिवेणी माविका पूर्वविद्यार्थीसमेत हुनुहुन्छ ।