२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्याङ्की निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोग भएन

ट्याङ्की निर्माण भएको पाँच वर्षसम्म पनि प्रयोग भएन

700
Shares

दाङ – तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो । रु ७५ लाख लागतमा उक्त ट्याङ्की निर्माण गरिएको थियो ।

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको छ । “न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्”, स्थानीय देवराज वलीले भन्नुभयो, “हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमा नआएपछि झनै अच्चमित भएका छौँ ।” मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्याङ्की निर्माण भएको हो ।

त्यहाँबाट केही दिन पानी तानिएको थियो । स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भए पनि वर्षात्को समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए । “हामीले केही समय पानी ट्याङ्कीमा राख्यौँ”, उनले भने, “तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन ।” धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाएकामा स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ ।

खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने उल्लेख छ । सचिव राकेश बस्नेतले सभामा पेस गरेको प्रतिवेदनमा सोही ट्याङ्की पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij