२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ठेक्का अवधि सकिए पनि सडक कालोपत्र भएन

ठेक्का अवधि सकिए पनि सडक कालोपत्र भएन

475
Shares

म्याग्दी – म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर सडकलाई ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न बेनीको सक्षम ब्रर्दश प्रालिले ठेक्का लिएको थियो ।

रु ९२ लाख ४१ हजारमा २०८१ भदौ १४ गते उक्त कम्पनीसँग भएको सम्झौताको अवधि गत माघ मसान्तमा सकिए पनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख धु्रवकुमार झाले बताए । “निर्माण कम्पनीले कालोपत्र गर्न बेवास्ता गरेपछि फागुन १ गतेदेखि लागू हुने गरी कूल ठेक्का सम्झौता रकमको दैनिक ०।०५ प्रतिशतका दरले हर्जना तिराएका छौँ”, उनले भने, “ठेक्का सम्झौता रकमको १० प्रतिशतसम्म जरिवाना तिराउन पाउने सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाले दिएको अधिकार प्रयोग गरिएका हौँ । भुक्तानी गर्ने समयमा जरिवाना रकम घटाउँछौँ, काम नगरे जमानत बसेको बैंकबाट असुल हुन्छ ।”

सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भर पर्दा ढिलाइ भएको हो ।

उपकरण जुटाउन नसकेर निर्माण कम्पनीले जिल्ला भित्रने मुख्य नाकामा रहेको सडक कालोपत्रमा ढिलाइ गर्दा स्थानीयवासीलाई धुलोले सास्ती हुनुका साथै समग्र जिल्लाकै बारेमा नकारात्मक सन्देश प्रवाह भएको बेनी–नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

मुस्ताङ भ्रमणमा आउने पर्यटकले बसपार्कस्थित सडक हिउँदमा धुलो, बर्खायाममा हिलो र सडकमा परेका खाल्टाखुल्टीका कारण सास्ती भोग्दै आएका छन् । यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने, धुलो छ । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले काठमाडौँबाट अक्सफाल्ट गर्ने उपकरण र निर्माण सामग्री ल्याउन लागेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij