काठमाडौं – नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा र जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सबीच व्यापार विस्तारका लागि सम्झौता (इन्टरलाइन पाटर्नरसिप एग्रिमेन्ट) भएको छ ।
सम्झौताअनुसार नेपाल वायुसेवा निगमको सिधा उडानमार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छोटो कनेक्टिङ फ्लाइटमार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरिया यात्रा गर्न सहज हुने बताइएको छ ।
सोअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनुका साथै सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरु सहजरुपमा नेपाल भ्रमण गर्न सक्ने निगमको विश्वास छ । यसबाट निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
लामो समयदेखिको निरन्तर समन्वय तथा वार्ताबाट सम्पन्न यस सम्झौता पश्चात नेपाल र जापानका दुई देशका राष्ट्रिय ध्वजावाहकमार्फत् एकआपसमा व्यापार विस्तार हुने, यात्रुको यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा प्रदान गर्न सकिने निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।
योसहित निगमसँग प्यासेन्जर इन्टरलाइन पाटर्नरसिप एग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने कार्गो इन्टरलाइन पाटर्नरसिप एग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २८ रहेको छ । आगामी दिनमा जहाजको संख्या थपिएसँगै विश्वव्यापी संजाल अझै फैलिने निगमले बताएको छ । यसबाट नेपाल र जापान बीचको आर्थिक एवं व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने र यात्रुहरुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने भन्दै निगमले जापानी पर्यटकहरुलाई पनि उच्चस्तरको सुविधासहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरु बनाउन सहज हुने विश्वास गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij