२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रायन इनर्जीको आईपीओ जारी गर्ने

रायन इनर्जीको आईपीओ जारी गर्ने

975
Shares

काठमाडौं – रायन इनर्जी प्रालिले आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। सो कार्यलाई व्यवस्थित बनाउनका लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटल बीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । मंगलबार काठमाडौंको नारायणचौर, नक्सालस्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा आयोजित विशेष कार्यक्रममा, रायन इनर्जीका प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

२०७७ साल पौष १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको रायन इनर्जीको केन्द्रीय कार्यालय सर्लाहीको बागमती नगरपालिका(१२ मा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौंको दरबारमार्गमा छ। कम्पनीले २०७८ साल पौष ०५ गते उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट अनुमति प्राप्त गरी दुई, तीन, र चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको संयोजन र सञ्चालन प्रणाली एकीकरण गर्दै आइरहेको छ।

रायन इनर्जी नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका व्यवसायीहरूको समूहद्वारा स्थापित संस्था हो। यस समूहले एसेम्बली प्लान्ट, विद्युतीय ऊर्जा प्रणाली एकीकरण, ग्रामीण तथा शहरी विद्युतीकरण, सौर्य सिंचाइ प्रणाली, पावर ब्याकअप प्रणाली स्थापना जस्ता विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ।

रायन इनर्जीले नवीकरणीय ऊर्जामा आधारित स्वच्छ यातायात प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। कम्पनी बजारमैत्री विद्युतीय सवारी साधनहरूको निर्माण, डिजाइन, विकास र उत्पादन गर्दै उन्नत प्रविधि, उच्च कार्यक्षमता र वातावरणीय स्थायित्व प्रदान गर्न कटिबद्ध रहेको छ। यस सम्झौतासँगै रायन इनर्जीले नेपालको यातायात क्षेत्रमा दिगो परिवर्तन ल्याउने योजनालाई थप गति दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij