काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो ३८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।
गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन। यसको अर्थ शेयरधनीहरुको हात रित्तै हुने भएको छ।
सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। यसअघिको ३७ औँ वार्षिक साधारणसभामा समेत सञ्चालकको निर्वाचन तालिका राखिएकोमा सर्वोच्च अदालतको आदेशमा उक्त निर्वाचन प्रक्रिया स्थगितत भएको थियो।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij