काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर निर्माणाधिन सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन् ।
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।
यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण हुन लागेको हो । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण भइरहेको हो ।
मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ । यो सुरुङमार्ग इन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन(ईपीएस) बिधीबाट निर्माण भइरहेको र सुरुङमार्गमा सवारी साधन गुड्दा आपातकालिन अवस्थामा यात्रुलाई उद्दार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोश्रो वाइपास र १३० मिटर दूरीको तेस्रो वाइपास पनि निर्माण गरिएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो । सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij