काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ।
राष्ट्र बैंकले विकास बैंक तर्फ महालक्ष्मी विकास बैंक लिमिटेड, लुम्बीनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, मुक्तीनाथ विकास बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड , गरिमा विकास बैंक लिमिटेड, र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका सीइओलाई सचेत गराएको हो ।
त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड , प्रोग्रेसिभ फाइनान्स लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड , जानकी फाइनान्स लिमिटेड , सेन्ट्रल फाइनान्स लिमिटेड , रिलायन्स फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका सीइओहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।
राष्ट्र बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा सीइओलाहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij