पोखरा – सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन भोलि देखि सुरू हुँदैछ। २५औं संस्करणको यो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा हुनेछ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन। माछापुच्छ्रे हिमालको मनमोहक दृश्य र विजयपुर नदीको किनारमा अवस्थित प्राकृतिक रूपमा आकर्षक हिमालयन गल्फ कोर्सलाई कठिन कोर्स मानिन्छ। त्यसैले प्रतिस्पर्धी गल्फरसँगै गल्फ कोर्सको चुनौती पनि खेलाडीहरूलाई रहनेछ। यो कोर्सलाई गल्फ डाइजेस्टले संसारकै रोमाञ्चक गल्फ कोर्सहरूमध्ये एक भनेर मूल्यांकन समेत गरेको थियो।
यो संस्करणमा पुरस्कार राशी वृद्धि गरेर ८ लाख ८२ हजार बनाइएको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख र ७२ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन।
डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसँगै, निरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। गत संस्करण रेकर्ड स्कोरमा उपाधि जितेका भुवनले यो सिजन कुनै पनि उपाधि जित्न सकेका छैनन। उनलाई यो सिजन पहिलो उपाधि जित्ने चुनौती समेत रहनेछ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विकेले भने यस पटक सहभागीता नजनाउने भएका छन।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij