काठमाडौं – ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा मिति २०८१ पुष २९ गते, सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, साधारणसभाले ज्योति विकास बैंक लि. को संस्थापक शेयरधनी समुहको तर्फबाट श्री हरि चन्द्र खड्का, श्री राम कुमार श्रेष्ठ र श्री सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट श्री ध्रुव कोइराला र श्री नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । सभाले बैंकको आ.व. २०८१/८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
साधारण सभामा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत रहेका थिए । यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ-आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
त्यस्तै, संस्थापक सेयरधनी समूहबाट हरि चन्द्र खड्का, रामकुमार श्रेष्ठ, र सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन। यसका साथै, सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित श्री हरि चन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ। खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा गरेका थिए ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानी मार्फत हरेक वर्ष १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
ज्योति विकास बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरु, शेयरधनी महानुभावहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij