काठमाडौं – सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पुस २६ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच पदभार सम्हालेका छन्।
बैंकको सञ्चालक समितिले देवकोटालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो। बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा सीईओ देवकोटाले संस्थागत सुशासन र नियमाकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता रहेको बताए। अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको पनि उनले सुनाए।
करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरी लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए। देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायतका कार्यकारी पदमा रही काम गरेका छन् । बैंकिङ, वित्तीय क्षेत्र र पुँजीबजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास सञ्चालक समितिले लिएको छ। देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन्।
तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए। देवकोटाले नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै करिब १ वर्ष उक्त संस्थाको कार्यकारी अधिकृतका रुपमा नेतृत्व गरेका थिए। व्यावसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वपार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्यसमेत रहेका थिए। देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलगायतका संस्थाहरुमा सञ्चालक सदस्यका रुपमा पनि कार्य गरिसकेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij