काठमाडाैं – कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँगको साझेदारीमा अली पे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ।
यो सेवा मार्फत अलि पे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्युआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्।
अली पे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ। यस सम्झौतासँगै नेपालमा उपलब्ध नेपाल पे क्युआर र यसको इन्ट्रोपेरेबल क्युआर लाई अलि पे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन्।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने नेपाल पे क्युआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अली पे, अली पे एचके, एम पे, टिनाबा, टच एन्ड गो वालेट, माइ पिबी, हाइ पे लगायतबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।
साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij