काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो ।
एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । ऐरीले एनपिएलका कुल ९ खेलमा ९ विकेट लिँदै २२७ रन जोडेका थिए।
चाइनिज कार ओमोडा इ-५ को मूल्य ६२ लाख रूपैयाँ छ। यसअघि नेपाल क्रिकेटले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको थियो।
क्यान, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले कार पुरस्कार दिने बताएका थिए। यस्तै ललित राजवंशी उत्कृष्ट बलर बन्दै बाइक पुरस्कार पाए। उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइन पनि १७ विकेट लिए। कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्मा इमर्जिङ खेलाडी घोषित भए। १६ वर्षीय विपिनले ८ खेलमा १३ विकेट लिएका थिए। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
ललित राजवंशीले उत्कृष्ट बलरबापत ५ लाख पुरस्कार पाए। सुदूरपश्चिमका सइफ जैइब प्लेयर अफ दि टुर्नामेन्ट भए। उनले २७५ रन र १२ विकेट लिए। उनले ५ लाख पाएका छन्। इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij