काठमाडौं- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते बिहिबार काठमाडौँको त्रिपुरेश्वरमा साधारणसभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
सभामा पेश हुने प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, मिति २०८०/०४/०१ गतेदेखि २०८१ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८१ / ८२ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने , संस्थाको नियमावली अनुसार समूह “क” का संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुभएका सञ्चालकको मनोनयन / नियुक्तिलाई अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने रहेका छन् ।
त्यसैगरी विशेष प्रस्तावहरुमा वित्तीय संस्थाको नियमावलीको नियम ३१ (ख), ३२.१ (ग), (घ) र ३६ (३) मा आवश्यक संशोधन गर्ने साथै नियमावलीको नियमहरुमा नियमनकारी निकायहरुबाट आवश्यक थपघट, परिमार्जन एवम् संशोधन गर्नका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने वा प्राप्ति (Merger / Acquisition) गर्न, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्न तथा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij