२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

820
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।
अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भएको हो ।
महासंघले सोमवार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक आइरहेको बताउनु भयो । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।
लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्धेश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समेत गरेको छ ।
सो केन्द्रको आजै अध्यक्ष ढकाल सहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गर्नु भयो ।
सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij