काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्दैछ। लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij